सोलुखुम्बुका पत्रकार निरौलालाई ‘टान जर्नालिज्म अवार्ड’
सोलुखुम्बु । सोलुखुम्बुबाट विगत १५ वर्षदेखि नियमित पत्रकारितामा क्रियाशील विश्व कीर्तिमानी पत्रकार भानुभक्त निरौला ‘टान जर्नालिज्म अवार्ड’बाट सम्मानित हुनुभएको छ ।
‘पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको असर’ विषयमा विश्वकै लामो रेडियो अन्तरवार्ता लिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमान बनाउनुभएका निरौलालाई ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन प्रवर्द्धनमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र टानका अध्यक्ष खुम सुवेदीले पत्रकार निरौलालाई नगद र ताम्रपत्रले सम्मान गर्नुभयो ।
पर्यटकीय हिमाली जिल्ला सोलुखुम्बुबाट स्थानीय हिमाल एफ.एम.को प्रबन्ध निर्देशकका रुपमा कार्यरत पत्रकार निरौलाले पछिल्लो समय जिल्लाबाटै कान्तिपुर दैनिक पत्रिका र कान्तिपुर टेलिभिजनमा जिल्ला समाचारदाताका रुपमा काम गरिरहनुभएको छ ।
सम्मानपछि प्रतिक्रिया दिँदै निरौलाले पर्यटन क्षेत्रमा विश्वमा अझै चिनाउँदै मुलुकको समृद्धिका लागि सोलुखुम्बु तथा देशकै पर्यटकीय गतिविधिमा कलम चलाउन थप हौसला मिलेको बताउनुभयो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल लगायत महत्त्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले पर्यटनविद् आङफिन्जो शेर्पासँग लगातार २५ घण्टा २६ मिनेट लामो अन्तर्वार्ता गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्