तपाईँ सुन्दै हुनुहुन्छः

गजेन्द्रनारायण सिंह अस्पतालमा सामाजिक सेवा लिने बिरामीको सङ्ख्या वृद्धि

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजअन्तर्गत सामाजिक सेवा इकाइ तथा ज्येष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ ।

इकाई मार्फत मासिक रूपमा साढे एक सय र दैनिक रूपमा ५ जना बिरामीहरूले सेवा लिएको सामाजिक सेवा इकाइका प्रमुख सूर्यकान्त झाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष ८ सय ४५ पुरुष र ९ सय ७२ महिला गरी १ हजार ८ सय १७ जना बिरामीले सेवा लिएका छन् । यो अघिल्लो वर्षभन्दा १ हजार ११६ बढी हो । 

आर्थिक वर्ष २०७७÷०७८ मा ३१८ पुरुष र ३८३ महिला गरी ७ सय १ जनाले सामाजिक सेवा लिएका थिए । जसमा ४१४ मधेसी, १५४ दलित, ७६ जनजाति, ३० ब्राह्मण क्षेत्री र २७ मुस्लिमले सेवा लिएका छन् ।   

आर्थिक वर्ष २०७८÷२०७९ मा १ हजार ८८ जना गरिब, ५४३ जना ज्येष्ठ नागरिक, ९७ जना लैङ्गिक हिंसा पीडित, २८ जना असहाय, ११ जना अपाङ्गता भएका व्यक्ति, २ जना प्राकृतिक प्रकोपमा परेका व्यक्ति र अन्य ४८ जनाले सेवा लिएको सेवा इकाई को तथ्याङ्कले देखाएको छ । जसमध्ये परिचयपत्र वा सिफारिस पत्रसहितका आउने बिरामीको सख्या न्यून रहेको छ । 

ग्रामीण भेगबाट असहाय, अशक्त, गरिब, दलित, ज्येष्ठ नागरिकहरू परिचय पत्र नलिई आउने गरेका कारण उनीहरूको उमेर, अवस्था हेरेर सेवा दिनु परेको उहाँले बताउनुभयो । सेवा लिएका १ हजार ८१७ मध्ये १ सय १५ जनाले मात्र परिचय पत्र वा सिफारिस लिएर आएको देखिएको छ ।

उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । तर टाढाबाट आउने असहाय, गरिब, ज्येष्ठ नागरिकलाई उपचार नगरी फर्काउन गाह्रो परेकाले पहिलो पटकका लागि सेवा दिने गरेको र दोस्रो पटक आउँदा परिचयपत्र लिएर आउन भन्ने गरेको इकाइका उपप्रमुख धनेश्वर यादवले बताउनुभयो ।

गत वर्षको साउनदेखि २०७९ असारसम्म सेवा लिनेमा ४३९ दलित, ३६१ जनजाति, ९१३ मधेसी, ५९ मुस्लिम, ४३ ब्राह्मण क्षेत्री र अन्य २ जना रहेका छन् । यस्तै आकस्मिक बिरामी ५७८ जना, बहिरङ्ग बिरामी ७२२ जना र भर्ना भएर आएका बिरामी ५१७ जना रहेको प्रमुख झाले बताउनु भयो । आर्थिक वर्षको साउन महिनामा सामाजिक सेवा लिने २ सय ५० जना पुगिसकेको छ ।

गत वर्ष औषधिमा १ लाख ४ हजार ८८५, परीक्षणमा १२ लाख ६० हजार १०८ तथा शय्या र रगतमा २० हजार ६३९ रुपियाँ गरी १३ लाख ८५ हजार ६३२ रुपियाँ लक्षित बिरामीको स्वास्थ्य सेवाबापत खर्च भएको छ । प्रत्येक बिरामीमा औसत ७ सय ६२ रुपियाँ खर्च भएको छ । आंशिक उपचार सहयोग पाउने ३८८ जना र पूर्ण उपचार सहयोग पाउने १ हजार ४२९ जना रहेका छन् ।    

परीक्षणबापत खर्च भएको १२ लाख ६० हजार १०८ रुपियाँमध्ये प्रयोगशालामा १० लाख ३२ हजार रुपियाँ, युएसजीमा ६९ हजार १ सय रुपियाँ, सिटी स्क्यानमा ५३ हजार ७३५ रुपियाँ, एक्सरेमा १ लाख ५ हजार २७३ रुपियाँ रहेको छ । यस्तै शय्या बापत १५ हजार ९९ रुपियाँ र रगत बापत ५ हजार ५४० रुपियाँ बिरामीले छुट पाएका छन् ।

लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपभोग अभिवृद्धि गर्न सरकारले आर्थिक वर्ष ०६९÷७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो इकाइ राख्ने निर्णय गरेकोमा राजविराजस्थित उक्त अस्पतालमा २०७५ चैत १२ गतेदेखि सेवा शुरु गरिएको हो ।

सेवा सञ्चालनका विषयमा जानकारी दिनु हुँदै गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद शाहले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट असहाय र असमर्थ बिरामीहरू उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले इकाइ स्थापना गरिएको बताउनु भयो । गरिबको पहिचान गर्न वा मापदण्ड किटान गर्न समस्या भएकोले कतिपय सम्पन्न व्यक्तिले पनि लाभ लिइरहेको हुन सक्ने उहाँले आशङ्का गर्नुभयो । 

लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालहरूमा सामाजिक सेवा इकाइ स्थापना गरिएको हो । यस्ता इकाईबाट विभिन्न १३ वटा लक्षित समूहले निःशुल्क र सहुलियत रूपमा उपचार पाउने व्यवस्था गरिएको छ ।

मधेस प्रदेशका ८ ओटै जिल्लामा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button