तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरपालिकामा १५ शय्याको अस्पताल बनाउने तयारी  

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा अस्पताल बनाउने गृहकार्य अघि बढेको छ । 

सिमरा प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धि गरी अस्पताल सञ्चालनको तयारीमा जीतपुरसिमरा उपमहानगरपालिकाका तयारी रहेको नगरप्रमुख राजन पौडेल जानकारी दिनुभयो । 

उहाँले आफ्नो यो वर्षको पहिलो प्राथमिकता प्राथमिक स्वास्थ्य केन्द्र सिमराको स्तर वृद्धि गरी अस्पतालमा परिणत गर्ने रहेको बताउनुभयो । उहाँले अस्पताल निर्माणका चाँडो सम्पन्न गर्ने उद्देश्यले उपमहानगरपालिका लागेको पनि बताउनुभयो । 

जितपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को नगर सभाबाट पारित भएको नीति तथा कार्यक्रममै १५ शय्याको अस्पताल निर्माण गर्ने कुरा उल्लेख छ । 

उपमहानगरको स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रवि भाष्करले सिमरा प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धि गरी १५ शय्याको अस्पतालमा परिणत गर्ने लक्ष्यको साथ गृहकार्य भइरहेको बताउनुभयो । 

उहाँले उपलब्ध भवन  र  जग्गालाई   अधिकतम प्रयोग गर्ने बताउनुभयो । 

१५ शय्याको अस्पताल बनाउने लक्ष्य भएपनि स्वास्थ्य विभागले तोकेको मापदण्ड भित्र उक्त स्थानमा कति शय्याको अस्पताल  बन्न सक्छ सोही अनुसार अस्पताल निर्माण गरिने उहाँले बताउनुभयो । 

असोज महिनाभित्रै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरी चौबिसै घण्टा सञ्चालन गर्ने तयारी उपमहानगरपालिकाको रहेको छ । 

अस्पतालका लागि चाहिने प्राविधिक जनशक्ति र उपकरणको लागि चाँडै नै बैठक बसी सूचना निकालिने स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा निर्माण भएको ८ वटा आधारभूत स्वास्थ्य केन्द्रको निर्माण करिब करिब सम्पन्न भइसकेको पनि उहाँले बताउनुभयो  । 

जीतपुरसिमरा उपमहानगरपालिकामा एउटा पनि अस्पताल नहुँदा उपमहानगरबासीहरु उपचारको लागि बिरगंज ,हेटौँडा ,कलैया, चितवन जानुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button