चुरे संरक्षण: माग सुनुवाई नभएको भन्दै तेस्रो चरणको आन्दोलन घोषणा
जनकपुरधाम । तराई मधेशको लाइफ लाइनको रुपमा रहेको चुरे संरक्षण तथा वास्तविक भूमिहीनको समस्या समाधानका लागि जनकपुरधाममा २६ दिनदेखि जारी धर्नाबाट पनि माग सुनुवाई नभएको भन्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरिएको छ ।
चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधामको जनक चौकमा गरिरहेको आन्दोलनप्रति तीनै तहका सरकार उदासीन बनेको भन्दै भदौ १ गतेबाट आन्दोलनको नयाँ कार्यक्रम सुरु गरिने जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिनुभयो ।
भदौ १ मधेश प्रदेशका ८ जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै कार्यालय अगाडी १ घण्टा धर्ना दिने, भदौ २, ५, ६ र ७ गते जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने, भदौ ८ गते तीन तहका सरकारको विरुद्धमा प्रदर्शन गर्ने, भदौ ९ गते मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गर्ने र मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्ने संयोजक यादवले जानकारी दिनुभयो ।
चुरेको दोहनका कारणले अहिले मानव जीवन नै सङ्कटमा पर्न थालेको भन्दै चुरेको दोहन नियन्त्रण तथा वास्तविक सुकुम्बासीको समस्या समाधानका लागि गत वर्षदेखि चरणबद्ध आन्दोलनमा अभियन्ताहरु उत्रँदै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्