तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुख सिंह नेतृत्वको टोलीद्वारा ६ ट्रक मल नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नेतृत्वमा वीरगञ्जका किसानहरूले धान गोड्ने बेलामा वीरगन्जकै किसानले आवश्यक मल नपाएको भन्दै ६ ट्रक मल नियन्त्रणमा लिएका छन् ।

महानगरपालिकाबाट वीरगञ्ज ईनर्वास्थित कृषि सामग्री संस्थानको गोदाममा पुग्नुभएका नगर प्रमुख सिंह सहितको टोलीले पहिला वीरगञ्जका किसानलाई मल उपलब्ध गराउनुपर्ने मागसहित गोदामबाट मल लोड गरी सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, मकवानपुरतर्फ जान लागेका आधा दर्जन ट्रकलाई नियन्त्रणमा लिई महानगरपालिकाको कार्यालयमा लगेको छ ।

नगर प्रमुख सिंहले पर्साका किसानलाई प्राथमिकतामा राखेर तत्काल मल वितरण नगरे नियन्त्रणमा लिइएका ट्रकको मल महानगरपालिकाले नै किसानलाई उपलब्ध गराउने बताउनुभयो ।

उहाँले मल नपाएर छटपटाएका किसानलाई मल दिँदा कानुन उल्लङ्घन हुन्छ भने कानुन तोडेर पनि आफू किसानको पक्षमा लड्ने दाबी गर्नुभयो । वीरगञ्जमा मात्रै अहिले ८ हजार टन मलको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

यसैबिच कृषि सामाग्री संस्थानको ईनर्वाको भुटनदेवी स्थित गोदामका प्रमुख चन्द्र चोलागाईले कृषि सामग्री कम्पनीको निर्देशन अनुसार मल वितरण भइरहेको र आफ्नो तहबाट पर्साका किसानलाई मात्रै मल वितरण गर्न नसक्ने बताएपछि मल लिन पुगेका झण्डै ५/६ हजार किसान आक्रोशित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button