तपाईँ सुन्दै हुनुहुन्छः

ठोरी–माडीको सडक छिट्टै निर्माण सम्पन्न हुन्छ: मन्त्री राई

वीरगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले हुलाकी सडक खण्ड अन्तर्गत अधुरो रहेको पर्साको ठोरी र चितवनको माडी खण्डको सडक छिट्टै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।

हुलाकी सडकखण्ड अन्तर्गत पर्साको तिलावे नदीमा निर्माण सम्पन्न पक्की पुलको उद्घाटन गर्दै मन्त्री राईले वन मन्त्रालयले उक्त सडकखण्ड निर्माणमा रहेको अड्चन हटाएसँगै हुलाकी सडकको बाँकी काम सम्पन्न गरेर पर्सालाई चितवनसम्म जोड्ने र ठोरीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले तिलावे नदीमा निर्माण भएको पुल पर्सा जिल्लाको समृद्धिको लागि कोषे ढुङ्गा सावित हुने बताउनुभयो ।

१ सय ३ मिटर लामो उक्त पुल निर्माण गर्न ७ करोड ७१ लाख रुपैयाँ लागेको सडक विभागले जनाएको छ । तिन वर्षभित्र निर्माण सम्पन्न हुने गरी २०७२ सालमा ठेक्का लगाइएको भए पनि विभिन्न कारणले पुल निर्माणमा ढिलाइ भएको थियो । पुल निर्माणको काम पप्पु/लुम्बिनी जेभीले सम्पन्न गरेको हुलाकी सडक निर्देशनालयले जनाएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाको अध्यक्षतामा सम्पन्न तिलाबे पुल उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, सिंगासन् साह तेली, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

पर्साको ग्रामीण भेगलाई सदरमुकाम वीरगन्जसँग जोड्ने मुख्य बाटोमा पर्ने तिलावे नदी पुलको उद्घाटन भएसँगै जिल्लाको ग्रामीण भेगका बासिन्दाले वर्षौंदेखि तिलाबे पुलमा भोग्दै आएको ट्राफिक जामको समस्या समाधान हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button