काँग्रेसले भदौ १० गतेदेखि निर्वाचनलक्षित राष्ट्रिय अभियान सुरु गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न संघीय र प्रदेशसभाको निर्वाचन लक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि सुरु गर्ने भएको छ ।
काँग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि भदौ २ गतेदेखि गर्ने भनिएको निर्वाचनलक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको बैठकपछि काँग्रेस सहमहामन्त्री भीष्म राज आङ्देम्बेले जानकारी दिनुभयो ।
यस्तै, बैठकले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । दल दर्ताको जिम्मेवारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको पनि सहमहामन्त्री आङ्देम्बेले जानकारी दिनुभयो ।
यस्तै बैठकले निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
यसैगरी प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत् निर्देश गर्ने पनि निर्णय भएको सहमहामन्त्री आङ्देम्बेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्