निर्माण सुरु भएको १० बर्ष पछि भेडेटारमा खानेपानी
धनकुटा । पूर्वकै पर्यटकीय नगरी धनकुटाको भेडेटारमा लिफ्ट मार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ । निर्माण सुरु भएको दश वर्ष पछि खानेपानी भेडेटार पुगेको हो । आयोजना २०६९ सालमा केन्द्र सरकारको लगानीमा सुरु भएको आयोजनाको प्रदेश सरकारले जिम्मा लिएर एक दशक पछि निर्माण सम्पन्न गरेको हो । खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश १ सरकारका खानेपानी तथा ऊर्जा मन्त्री राम कुमार राईले सुस्तगतिमा भइरहेका अन्य आयोजना पनि चाँडो सम्पन्न गरि सञ्चालनमा ल्याउने बताउनु भयो ।
प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा तिन करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । स्थानीय सिरिसे, सौरे र सौरे खोलाबाट लिफ्ट गरी करिब डेढ किलोमिटर माथि भेडेटारमा खानेपानी ल्याइएको हो ।
लिफ्ट मार्फत ल्याइएको पानी डाँडामा एक एक लाख लिटरका तीन बटा ट्याङ्कीमा जम्मा गरी अन्य ५० हजार लिटरका २ र १२ हजार लिटरका ३ वटा ट्याङ्की मार्फत वितरण गर्ने गरी तयारी गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिनुभयो ।
आयोजना मार्फत साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ भेडेटारका १ सय ४७ घरधुरीले लाभान्वित हुने भएका छन् । आयोजना सञ्चालन पछि भेडेटारका होटलमा हुने गरेको खानेपानी समस्या हटेर जाने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्