श्रीमतीको हत्याका आरोपीमाथि अनुसन्धान शुरु
अछाम । आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेर हत्या गरेर फरार रहेका अभियुक्तमाथि अछाम प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा पक्राउ परेका श्रीमान् पदम कामी (पैलु) लाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।
यही साउन ११ गतेको राती हत्या गरेर फरार भएका ५४ वर्षीय पदमलाई प्रहरीले बुधबार कञ्चनपुर बसपार्कबाट पक्राउ गरि बिहीबार अछाम ल्याइएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो ।
उनीमाथि प्रहरीले अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरेको हो । प्रहरीका अनुसार उनी हत्या गरेर साउन ११ गते राति नै जङ्गलको बाटो भएर कालिकोट गएका थिए।
त्यसपछि त्यहाँबाट जुम्ला, नेपालगञ्ज र कैलाली हुँदै महेन्द्रनगर पुगेका थिए। तर, प्रहरीले सबै जिल्लाका प्रहरीलाई उनी फरार रहेको बारे सूचना पठाएको थियो । उनी भारततर्फ भाग्न महेन्द्रनगर पुगेको प्रहरीले बताएको छ।
महेन्द्रनगर पुगेका उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिका बसपार्कबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ । मृतकका तर्फबाट लक्ष्मण कामीको जाहेरीका आधारमा पदमलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताउनुभयो ।
उनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ भने जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको डिएसपी डाँगीको भनाइ छ ।
उनले हत्या स्वीकार गरेको समेत प्रहरीले जनाएको छ । दिनहुँ मदिरा सेवन गरि श्रीमतीमाथि हिंसा गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । उनको परिवार एकान्त लेकाली क्षेत्रमा बस्ने गरेकोले हत्यासम्म गर्न सकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
याे पनि पढ्नुहाेस
श्रीमतीको हत्यारा पक्राउ
प्रतिक्रिया राख्नुहोस्