तपाईँ सुन्दै हुनुहुन्छः

३३ वर्षपछि जोरसालमा पुन लाग्यो हाट बजार (फोटोफिचर)

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ जोरसाल बजारमा ३३ वर्ष अघि बन्द भएको पाक्षिक हाट पुन लाग्न सुरु भएको छ ।

स्थानीयहरूको बेमेलको कारण बन्द भएको औँसी र  पूर्णिमा हाट सदरमुकाम फिदिम बजारबाट २ किलोमिटरको दुरीमा रहेको ऐतिहासिक जोरसाल बजारमा लाग्न सुरु भएको हो । 

जोरसाल तेह्रथुमको आठराई (तत्कालीन १२ गाउँ पञ्चायत) क्षेत्र, ताप्लेजुङ र पाँचथरको दक्षिण पश्चिम क्षेत्रको मुख्य व्यापारिक केन्द्र थियो । 

इतिहासको संरक्षण गर्ने उद्देश्यले हाटलाई स्थानीय युवाहरू, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ तथा नगरपालिकाको सक्रियतामा सुरु गरिएको देउराली युवा समूहका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो । 

पाक्षिक हाटले स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूको विक्री वितरणमा सहयोग पुर्‍याउने स्थानीय बताउँछन् । 

जनै पूर्णिमाको अवसर पारेर उद्घाटन गरिएको औँसी पूर्णिमा हाटमा गाईजात्रा, रोपाई जात्रा, लाखे लगायतको झाँकी प्रदर्शन गरिएको थियो । हाटलाई नियमित गराउन युवा समूहले समन्वयकारी भूमिका निर्वाह गरेको स्थानीय सिरी सुवेदीले बताउनुभयो । 

कोरोनाको कहरसँगै धेरै हाट बजारहरू सञ्चालन हुन नसकिरहेको अवस्थामा ३३ वर्षपछि पुन सञ्चालनमा आएको हाटले बन्द भएका हाट पुन सञ्चालनको लागि उत्प्रेरणा मिल्ने सरोकारवालाको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button