तपाईँ सुन्दै हुनुहुन्छः

अफ्रिकन स्वाइन फिभर रोक्न उच्च सतर्कता

सुर्खेत । देशका विभिन्न भागमा सुँगुर तथा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखा परेपछि सुर्खेतमा उच्च सतर्कता अपनाइएको छ । झापा, काठमाडौँ, चितवनलगायतका क्षेत्रमा सुँगुरहरू मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको पत्ता लागेपछि बिस्तारै अन्य क्षेत्रमा समेत फैलिन सक्ने भएकाले सुर्खेतमा पनि उच्च सतकर्ता अपनाइएको हो । 

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा अन्तर प्रदेशबाट ल्याइने रोगी सुँगुर, बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने हुँदा कडा निगरानी गरिएको छ । बाहिरबाट सुँगुर तथा बंगुर ल्याउनु नै पर्ने भए पशु चिकित्सकबाट चेकजाँच परीक्षणपछि निरोगिताकाे प्रमाणपत्र भएको पाइएपछि मात्र भित्र्याउन पाइने पशुपक्षी विकास निर्देशनालय सुर्खेतले जनाएको छ । 

अफ्रिकन स्वाइन फिभरको संक्रमण जतिबेला पनि फैलिन सक्ने भएकाले सुर्खेतसहित कर्णालीका सबै जिल्लामा उच्च सतर्कता अपनाइएको पशुपक्षी विकास निर्देशनालयका निर्देशक प्रचण्ड खड्काले जानकारी दिनुभयो । उहाँले गत वर्ष चैतदेखि नेपालमा देखापर्न थालेको अफ्रिकन स्वाइन फिभरको संक्रमण रोकथाम नियन्त्रणका लागि सुर्खेत भित्रिने सबै नाकाहरूमा पशु विज्ञ, सुँगुर तथा बंगुर पालक तथा व्यवसायी, स्थानीय प्रशासनसँगै सुरक्षा निकायसँग समन्वय एवं सहकार्य गदै सतर्कता अपनाइएको जनाउनु भयो । 

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएकाले प्रभावकारी उपचार नहुने हुँदा सतर्कता नअपनाइएमा ठूला आर्थिक क्षति गराउन सक्ने उहाँको भनाइ छ । ‘कुनै स्थानमा अस्वाभाविक रुपमा बंगुर मरेमा वा लक्षण देखा परेमा तत्काल स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरेका छौँ,’ उहाँले भन्नु भयो, ‘यो रोगका कारण क्षति भएका कृषकलाई राहत दिने व्यवस्था छैन ।’ बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस हो । यो रोग पशुबाट मानिसमा भने सर्दैन ।

यो रोगका लक्षण

यो रोगबाट संक्रमण भएमा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो सङ्ख्यामा मर्ने पशु विज्ञहरू बताएका छन् । विज्ञका अनुसार यो उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो । यो रोगका कारण मृत्यु भएका पशुको मासु नखान विज्ञहरुको सुझाव छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button