तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने सरकारको दायित्व : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने सरकारको दायित्व पुरा गर्न नेपाली सेना र सम्वद्ध सुरक्षा निकायहरूका साथै सबैको सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । 

रक्षा मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं रक्षामन्त्री देउवाले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सम्पुर्ण सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरूको प्रयासमा नागरिक समाज, राजनैतिक दल, सबैको सकारात्मक सहयोग चाहिने बताउनुभयो । 

प्रधानमन्त्री एवं रक्षामन्त्री देउवाले काठमाडौँ तराई मधेश द्रुत मार्गको निर्माणबाट एक घण्टामा नै काठमाडौँबाट निजगढको यात्रा तय गर्न सकिने भएकाले यसको निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिँदै निर्माणमा ढिलाइ हुनुको समस्याहरूको समाधानमा सरकार साथमा रहने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले मुलुकको विकास गतिविधिलाई अगाडि बढाउन नेपाली सेनाको भूमिका प्रभावकारी रहेकाले आगामी दिनमा पनि यस्ता कामलाई नेपाली सेनाले अझ प्रभावकारी ढंगले अगाडि बढाउनु जरुरी रहेको पनि बताउनुभयो । 

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले काठमाडौँ तराई मधेश द्रुतमार्गको निर्माणमा खोकना क्षेत्रमा जग्गा प्राप्ति समस्याका रुपमा देखिएकाले आयोगले त्यसको समाधानका लागि सरोकारवाला राजनैतिक पक्षहरूसँग छलफल गरिरहेको र चाँडै नै समस्याको समाधान हुने बताउनुभयो । 

योजना आयोगका उपाध्यक्ष डा.पौडेलले इन्धन खपत बढ्दै जाँदा मुलुकले भोग्नुपरेको व्यापार घाटालाई न्यूनीकरण गर्न पनि काठमाडौँ तराई मधेश द्रुत मार्गको निर्माण यथाशक्य छिटो सम्पन्न गर्नु जरुरी रहेकाले अब सबै पक्षको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । 

नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले विपत् व्यवस्थापनमा नेपाली सेनाले अग्रणी भूमिका खेल्दै आएकोमा सोको सराहना गर्दै विपत् व्यवस्थापनका लागि  थप आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले शान्ति सेना खटाउने विश्वको दोस्रो ठूलो राष्ट्र नेपाल बनेको भएपनि त्यहाँ नेतृत्वदायी भूमिका र अवसर सीमित मात्र भएकाले यसलाई बढाउन कूटनीतिक पहल हुनुपर्ने बताउनुभयो । 

प्रधान सेनापति शर्माले मुलुकको विकास निर्माणमा सरकारले सुम्पेको जिम्मेवारी पुरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले मन्त्रालय अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाको निर्माण, चुरे क्षेत्रको संरक्षण, ऐतिहासिक गढी–किल्ला  संरक्षण तथा विकास गर्ने लगायतका कामलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button