तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको निर्वाचनपछि अछाममा ४ हजार ८० मतदाता थपिए

अछाम । अछाममा पछिल्लो स्थानीय तहको निर्वाचनपछि  ४ हजार ८० मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार असारबाट सुरु भएको मतदाता नामावली सङ्कलन कार्य अन्तर्गत अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कुल ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्णसिंह नायकका अनुसार स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ताका लागि सर्वसाधारणको भीड लागेको थियो ।

आगामी मङ्सिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब जिल्लामा १ लाख ६० हजार बढी मतदाता पुगेका छन् ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै पालिका र सदरमुकामसम्म पुगेका थिए ।

साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन कार्य बन्द भएको थियो ।

हाल अछाम जिल्लामा ८२ हजार २ सय ५१ महिला, ७८ हजार १ सय ७ पुरुष र २ अन्य गरी कुल मतदाता १ लाख ६० हजार ३ सय ६० पुगेका निर्वाचन अधिकारी नायकले बताउनुभयो ।

जिल्लामा मतदानस्थल १ सय ३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button