तपाईँ सुन्दै हुनुहुन्छः

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

जनकपुरधाम। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो ।

सो पुल कुल रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख ई सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो ।

यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्वपूर्ण रातुखोलाको पुल पनि सम्झौता अवधिअगावै निर्माण सम्पन्न भएको छ । कुल रु १४ करोडको लागतमा पप्पु दिवा जेभी प्रालिले दुई सय मिटर लामो पुल निर्माण सम्पन्न गरेको प्रमुख मिश्रले बताउनुभयो । आव २०७५/७६ मा सम्झौता भई २०७९ वैशाखमा निर्माण सम्पन्न गरेको हो ।

आव २०७८/७९ मा निर्माण सम्पन्न भएका यी दुवै पुलको गत २०७९ वैशाखमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उद्घाटन गर्नुभएको थियो । अत्यन्तै महत्वपूर्ण मानिएको दुवै पुल निर्माणसँगै यातायात आवागमनमा सहजता भएको स्थानीयले बताएका छन् ।

कम रकममा ठेक्का सम्झौता गर्ने र वर्षौसम्म योजना अलपत्र छाड्ने प्रवृृत्ति बढिरहेका बेला यसरी समयअगावै पुल निर्माण सम्पन्न गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बर्दिबासका स्थानीय तारणी लामगादेले बताउनुभयो । “ठेकेदारको प्रवृत्ति देख्दा यो पुल पनि वर्षौसम्म बन्दैन कि भन्ने हाम्रो चिन्ता थियो”, लामगादेले भन्नुभयो, “तर निर्माण कम्पनीले सोचेभन्दा थोरै समयमा पुल निर्माण सम्पन्न गरेको छ ।” यो अरु निर्माण कम्पनीका लागि पनि उदाहरणीय कार्य भएको उहाँको भनाइ छ ।

यी दुई पुलमात्र होइन, आव २०७८/७९ मा धनुषा र महोत्तरीका ११ वटा पुल निर्माण सम्पन्न भएको छ । दुवै जिल्लाका विभिन्न सडकमा निर्माणाधीन ५३ वटा पुलमध्ये यस आवमा ११ पुलको निर्माण सकिएको र बाँकी पुलको निर्माणकार्य भइरहेको प्रमुख मिश्रले बताउनुभयो । ठेक्का लिएर पनि लामो समयदेखि काम अलपत्र छाड्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरेपछि धमाधम पुल निर्माण भएको प्रमुख मिश्रको भनाइ छ । उहाँका अनुसार योजना अलपत्र छाड्ने ८८ निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यस्तै सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाद्वारा निर्माणाधीन धनुषा र महोत्तरीका रणनीतिक सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको छ । कुल ८८ किलोमिटर सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ । गत आव २०७७/७८ मा धनुषा र महोत्तरीमा १७ वटा पुल निर्माण भएको थियो भने ८८ किलोमिटर सडक कालोपत्र भएको थियो ।

बजेट आभावका कारण अघिल्लो आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा कम सङ्ख्यामा पुल निर्माण र सडक कालोपत्र भएको प्रमुख मिश्रको कथन छ । यस्तै आव २०७८/७९ मा तराई मधेस विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा विभिन्न ८८ वटा सडक पूर्वाधारका योजना प्रदेश सरकारमा हस्तान्तरण गरिएको प्रमुख मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button