तपाईँ सुन्दै हुनुहुन्छः

काठ दाउराको मागमा नेपाललाई आत्मनिर्भर बनाइन्छ: मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले “सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने मूल नाराका साथ आज आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रममा मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा वैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताउनुभयो ।

उहाँले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय वृद्धि भई वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दाबी गर्नुभयो ।

यसैगरी मन्त्री यादवले हाल विविध कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परम्परागत उपभोक्ताहरू विशेषतः मधेसी, दलित, जनजाति, आदिवासी तथा मुसलमानहरूको वन पैदावारको माग र आवश्यकतालाई पनि प्राथमिकताका साथ पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरू बमोजिम व्यवस्थापनका लागि नेपालमा करिब २२ हजार ५१९ सामुदायिक वन उपभोक्ता समूहहरूले करिब २३ लाख ५१ हजार ५७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button