तपाईँ सुन्दै हुनुहुन्छः

आज २८ औँ विश्व आदिवासी जनजाति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । २८ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा नेपालसहित विश्वका आदिवासी जनजातिहरूले आज विभिन्न कार्यक्रम गरि भव्य रुपमा विश्व आदिवासी जनजाति दिवस मनाएका छन् ।

“पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशिताको लागि जनजाति आन्दोलन, जाति, भाषा, धर्म र संस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण” भन्ने नाराका साथ यो दिवस मनाएकाे नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

दिवसकै अवसरमा आज बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली प्रदर्शन गर्दै मूल समारोहको रुपमा महासङ्घले अहिले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भव्य कार्यक्रम गरिरहेको छ । 

दिवसको अवसर पारेर हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नु हुँदै प्रधानमन्त्री शेर बहादुर देउवाले संविधानमा उल्लेख भएअनुसारका हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार सदैव क्रियाशील रहेको बताउनुभएको थियाे ।

विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि सङ्घर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे लामा शेर्पाले बताउनुभयो ।

आदिवासीको सांस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू साङ्केतिक रुपमा प्रदर्शनसहित देशैभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाइने शेर्पाले बताउनुभयो ।

यसका साथै दिवसको अवसर पारेर महासङ्घका सम्बन्धन प्राप्त संस्था र आदिवासीका ७ वटा संस्थाहरूको अगुवाइमा विभिन्न कार्यक्रम गरिएको छ  । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन् । आदिवासी समुदायको विषय उठान भएको २७ वर्ष पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button