तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व अनुसन्धान विभागद्वारा विदेशी विनिमय अपचलन सम्बन्धीको मुद्दा दर्ता

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन सम्बन्धीको मुद्दा सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको छ ।

नुवाकोटका नवराज ढुङ्गाना, फणीन्द्र प्रसाद ढुङ्गाना, प्रज्वल ढुङ्गाना र सुवासजंग पाण्डेलाई अभियुक्त बनाई उक्त मुद्दा दायर गरिएको हो ।

विभागका अनुसार काठमाडौँमा विभिन्न पेशा गरी बस्ने फणीन्द्र प्रसाद, नवराज र सुवासजंग सँगको मिलेमतोमा हाल जापानमा रहेका प्रज्वल ढुङ्गाना समेतले विदेशी मुद्राको अवैध कारोबार गरी अपराध गरेको अनुसन्धानबाट खुलेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले नुवाकोट ककनी गाउँपालिका ३ घर भएका नवराज ढुङ्गानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेपछि यो हुन्डी कारोबारबारे जानकारी खुलेको हो ।

विभागका अनुसार जापानबाट हुन्डी कारोबार मार्फत उक्त रकम प्रज्वल ढुङ्गानाले पठाएको खुलेको हो । उनीहरूले विदेशी विनिमय ऐन २०१९ विपरीत कार्य गरेको किटान गरी विभागले मुद्दा दायर गरेको छ ।

निजहरूले गरेको कसुर अनुसारको कारबाही र बरामद रकम जफत गरी पाउँ भनी माग दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button