तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदल बैठक: संयोजकमा कांग्रेस नेता सिटौला चयन

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको आज बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने विषयमा दलहरूले आ आफ्नो धारण राख्ने क्रम सुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा कार्यदलमा संलग्न सदस्यहरुले गठबन्धन गरेर अघि बढ्ने विषयमा दलगत धारणा राख्नुभएको र यसलाई निरन्तरता दिँदै आगामी बैठकमा थप छलफल गरी निष्कर्षमा पुग्ने बैठक पछि कार्यदलका सदस्य एवंम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

यस्तै कार्यदलको बैठकले कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई चयन गरेको पनि सञ्चारमन्त्री कार्कीले बताउनुभयो । सरकार र गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने बारेमा सञ्चारकर्मीको एक जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री कार्कीले लोसपा गठबन्धनमा सहभागी हुने बारेमा शीर्ष तहमा छलफलहरू अघि बढिरहेको बताउनुभयो । 

गठबन्धनको कार्यदलको अर्को बैठक साउन २६ गते बिहीबार साँझ ४ बजे पुनः बस्ने पनि सञ्चारमन्त्री कार्कीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button