तपाईँ सुन्दै हुनुहुन्छः

बाढी–पहिरोबाट दोलखाका ३० भन्दा बढी घरमा क्षति

दोलखा । आइतबार रातिको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले दोलखाका विभिन्न ठाउँका ३० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । दर्जनौँ परिवार विस्थापित भएका छन् ।

अविरल वर्षाका कारण दोलखाको भीमेश्वर नगरपालिका ६ खोर्थली सामुदायिक वनमा रहेको रिर्चाज पोखरी फुटेर मरिङ खोलामा बाढी आउँदा वडा नम्बर ३ पाखाटोल र वडा नम्बर २ चम्के डाँडामा एउटा रिर्सोटसहित १० भन्दा बढी घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

पोखरी फुटेर मरिङ खोलामा आएको बाढीले वडा नम्बर २ चम्के डाँडाका सुन्दर नेपाली, सिता नेपाली, जोत्सा नेपाली लगायतका सात वटा घरमा क्षति पुगेको स्थानीय पीडित सुन्दर नेपालीले बताउनुभयो ।

बाढीले वडा नम्बर २ मा रहेको उर्डस रिसोर्टको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यसैगरी वडा नम्बर ३ पाखा टोलको शिव श्रेष्ठ लगायतका पाँच वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । बाढीले खेतीयोग्य जमिनमा समेत क्षति पुर्‍याएको छ ।

मरिङ खोलाको बाढीकै कारण वडा नम्बर २ दोलखा र वडा नम्बर ४ जिलु जोड्ने बेलिब्रीज बगाएको जिलुका स्थानीय हिरा चौलागाईले बताउनुभयो ।

अविरल वर्षापछि खसेको पहिरोले दोलखाको विगु गाउँपालिका ४ खोलिखिम बजारका दुई वटा घर पुरेको र २० भन्दा बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button