तपाईँ सुन्दै हुनुहुन्छः

म्याद थपको माग गर्दै करारका शिक्षकहरू आन्दोलित

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा करारका शिक्षकहरू म्याद थपको माग गर्दै आन्दोलित हुनुभएको छ । बर्दिबास नगरपालिकाले करार अवधि थप नगरेपछि उहाँहरू आन्दोलित हुनुभएको हो ।

आन्दोलनरत शिक्षकहरूले आइतबार मेयर प्रह्लाद कुमार क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै साउन २९ गतेसम्मको चरणबद्ध सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

सोही कार्यक्रम अन्तर्गत आन्दोलनको पहिलो दिन सोमवार शिक्षकहरूले बर्दिबास नगरपालिकाको मुलगेट अगाडी ३ घण्टा धर्ना दिनुभएको छ ।

२३ साउनमा ३ घण्टा धर्ना, २४ मा ५ घण्टा धर्ना, २५ मा ६ घण्टा धर्ना, २६ मा काम रोकेर विद्यार्थीसहितको आन्दोलन र २९ मा नगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको शिक्षक बलराम महतोले जानकारी दिनुभयो । त्यति गर्दा पनि माग पूरा नभए दोस्रो चरणको कार्यक्रम अर्को साता सार्वजनिक गर्ने आन्दोलनरत शिक्षकहरूको भनाई छ ।

शिक्षकहरूको आन्दोलनमा शिक्षक सम्बद्ध विभिन्न सङ्घ सङ्गठनहरूले पनि साथ दिइरहेका छन् । नेपाल शिक्षक महासङ्घ महोत्तरी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन बर्दिबास नगर समिति लगायतका शिक्षक सम्बद्ध पेशाकर्मी सङ्घ सङ्गठनहरूले नगरपालिकाले लिएको निर्णय नसच्याए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

नगरपालिकाका मेयर क्षेत्रीले भने शिक्षकको करार अवधि थप गर्न कुनै कानुनी आधार नरहेको हुनाले शिक्षक नै स्वतः पदमुक्त भएको बताउनुभयो । करार अवधि सकिएपछि नगर शिक्षकले करार म्याद थप गर्न आफैँ बेवास्ता गरेको हुनाले कानुनअनुसार करार नवीकरण नभएको उहाँको भनाइ छ ।

बर्दिबासलाई शैक्षिक हब बनाउने अभियानमा विद्यालयहरूमा शिक्षकको कमी भएपछि पूर्व मेयर विदुरकुमार कार्कीले गत वर्ष खुल्ला प्रतिस्पर्धा मार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका ६२ जना करारका शिक्षक भर्ना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button