तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्त्वपूर्ण हुन्छ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।

आज जापानको राजधानी टोकियोमा आयोजित ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र बिदेसिएका नेपालीहरूलाई स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतीक्षामा आफू रहेको बताउनुभयो ।

संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उहाँको भनाइ छ ।

उहाँले हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय नै राजनीति भएकाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने बारेमा सामूहिक रुपमा प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै उहाँले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादीकै पहलमा देशमा सङ्घीयता र गणतन्त्र आएको तथ्य पनि पेश गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासका लागि गुणात्मक तवरले लगानी गर्ने वातावरण बनाइएको बताउनुभयो । उहाँले देशभित्र राजनीतिक स्थायित्व र विकासका लागि आफूहरू लागि परेको स्पष्ट पार्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button