तपाईँ सुन्दै हुनुहुन्छः

इनरुवा अस्पतालमा सेवा विस्तार

सुनसरी । सुनसरीको इनरुवामा रहेको जिल्ला अस्पतालले सेवा विस्तार गरेको छ ।

अस्पतालले शनिबारदेखि इको र इन्डोस्कोपी सेवा सुचारु गरेको हो । इको र इन्डोस्कोपी मेसिनको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले गर्नुभयो ।

अस्पतालका मेसु डा.देवराज घिमिरेले मेशिन ल्याउनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सभासद् सीताराम मेहता, प्रदेश सभासद् राजीव कोइराला र इनरुवाका मेयरको ठूलो भूमिका रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख भण्डारीले इनरुवा नगर क्षेत्रभित्र रहेको गरिब विपन्न वर्गका लागि नगरले छुटाएको २० लाख रुपियाँको सेवा दिन अस्पताललाई जहिले पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष विरेन्द्र साह, नेकपा एमाले सुनसरीका नेता परशुराम यादव, अस्पताल विकास समितिका सदस्य तोया गिरी पौद्धार लगायतले इनरुवा अस्पतालको इको र इन्डोस्कापी सेवाले नागरिकलाई लाभ पुग्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button