तपाईँ सुन्दै हुनुहुन्छः

त्रासदीपूर्ण घटनाको ७७ वर्षः अझै रोइरहेछन् हिरोसिमा र नागासाकी

काठमाडौँ । सन् १९४५ अगस्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो । जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए । त्यतिबेलै अमेरिकी बमवर्षक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो ।

निमेषमै हिरोसिमा खण्डहर बन्यो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकिरण फैलियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो ।

हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगस्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । नागासाकी निवासी पनि हिरोसिमाकै नियति बेहोर्न बाध्य भए । लाखौँको मृत्यु भयो । हजारौँ घाइते भए । सहर क्षणभरमा खरानी बन्यो । विस्फोटपछि मानिसका शरीरका छाला खस्न थाले । नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए । बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भयो ।

विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ । तर समकालीन विश्वले न सो विध्वंसलाई बिर्सन सकेको छ । न त्यसको भयबाट मुक्त हुन नै । विश्वबाट पारमाणविक हतियार निःशस्त्रीकरण गर्नुपर्ने आवाज उठिरहेको भए पनि त्यस्ता हतियार भण्डारण गर्ने राष्ट्रले त्यसलाई सम्बोधन गरेका छैनन् । अझै पनि विश्वका विभिन्न मुलुकसँग २४ हजार बढी पारमाणविक हतियार रहेको सार्वजनिक भएका छन् ।

उक्त घटनाको स्मृतिमा विश्वभर विभिन्न कार्यक्रम गरिएको छ । नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनले ७७ औँ हिरोसिमा–नागासाकी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले अझै पनि पारमाणविक हतियार निःशस्त्रीकरण गर्ने विषय कागजमा मात्रै सीमित भएकाले जुनसुकै बेला त्यस्ता हतियारको प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, रसायन शास्त्र विभागका प्रा डा मोती भुसालले हिरोसिमा र नागासाकी आक्रमणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पारमाणविक शक्ति सम्पन्न राष्ट्रबिच युद्धको अवस्था सिर्जना भए त्यसले विश्व समुदायलाई नै प्रभावित पार्ने बताउनुभयो । भौगोलिक रूपमा नेपालका छिमेकी मुलुकले पनि पारमाणविक हतियार भण्डारण गरिरहेको र प्राविधिक चुहावट भए मात्रै पनि नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि रसायन शास्त्र विभागका प्राध्यापक डा मन्दिरा प्रधानाङ्गले पारमाणविक आक्रमण भएको क्षेत्रको आफूले स्थलगत भ्रमण गरेको र अहिले पनि त्यहाँका नागरिक त्रसित अवस्थामा रहेको सुनाउनुभयो ।

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अबको युद्ध पारमाणविक हतियार सम्पन्न मुलुकबिच हुने अवस्था देखिएको उल्लेख गर्दै त्यस्तो अवस्था आए कसैले पनि नजित्ने र मानवता हार्ने बताउनुभयो ।

सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले विश्वबाट सबै खालका हातहतियार तथा सैन्य उपकरणको उत्पादन बन्द गरिनुपर्ने बताउनुभयो ।

पारमाणविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्छ: उपसभामुख भुसाल
कार्यक्रममा उपसभामुख पुष्पा भुसालले पारमाणविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्ने बताउनुभयो । उहाँले पारमाणविक हतियारलाई समाप्त गर्ने र शान्तिलाई अगाडि बढाउने विषयमा आफ्नो निरन्तर प्रतिबद्धता रहिरहने बताउनुभयो ।

उपसभामुख भुसालले विज्ञान, प्रविधिको सदुपयोग गरेर मुलुकलाई समृद्धि र विकासमा लैजानुपर्ने बताउनुभयो । “हिजोका दिनमा भएका यी घटनाका भोगाइ, तीतो अनुभव भोलिका पुस्ताले भोग्नु नपरोस्, त्यो भोगाई समृद्धि र विकासका लागि ठूलो बाधक हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामी समयमै सजग र सचेत बनौँ ।”
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button