तपाईँ सुन्दै हुनुहुन्छः

कमीकमजोरी सुधार गरी अघि बढ्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमालाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताउनुभएको छ ।

बीमा समितिले निर्जीवन बीमा सम्बन्धी समसामयिक विषयमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग शुक्रबार गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा क्षेत्रका कमीकमजोरीहरूलाई दोहोरिन नदिई सुधार गरेर अघि बढ्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा व्यवसायमा देखिएका समस्याहरूका बारेमा छलफल गरी समस्याहरू समाधान गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमकको सुपरिवेक्षण, कृषि, लघु तथा पुनर्बीमा, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमालेख सम्बन्धी समस्या र समाधानका उपाय तथा निर्देशक दिनेश कुमार लालले जोखिमांकनमा देखिएका समस्या एवम् चुनौती र समाधानका उपाय सम्बन्धमा छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गरी छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button