तपाईँ सुन्दै हुनुहुन्छः

समाज रूपान्तरणमा साहित्यको महत्त्वपूर्ण भूमिका: मुख्यमन्त्री राउत

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले साहित्य समाजको ऐना भएको बताउँदै समाज रूपान्तरणमा साहित्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले समाजमा व्याप्त कुरीति, कुसंस्कार एवम् अनियमितताको साहित्यमार्फत उजागर गरेर समाज रूपान्तरणमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

आज वीरगञ्जमा भोजपुरी साहित्यकार दिनेश गुप्ताद्वारा लिखित भोजपुरी गजल सङ्ग्रह ‘सुतल अब ठीक नइखे’ र भोजपुरी हाइकु सङ्ग्रह ‘हिरोसिमा’ को विमोचन कार्यक्रममा मुख्यमन्त्री राउतले समाजको यथार्थलाई चित्रण गरेर परिवर्तनका लागि कलम चलाउन साहित्यकार तथा पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले भोजपुरी भाषामाथि मिथिला भाषा हाबी हुँदै गएको बताउँदै भोजपुरी भाषाको संरक्षण एवम् संवर्द्धनका लागि थुप्रै सङ्घ संस्थाहरू भए पनि सन्तोषजनक काम गर्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले वीरगञ्ज महानगरपालिका भोजपुरी भाषा र संस्कृतिको संरक्षण एवम् संवर्द्धनका लागि सधैँ तत्पर रहेको बताउँदै भाषा र साहित्यको जगेर्नामा सबैको सामूहिक प्रयास हुनु पर्ने कुरामा जोड दिनुभयो ।

पुस्तक विमोचन कार्यक्रमलाई साहित्यकार एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता, भोजपुरी प्रतिष्ठान वीरगञ्जका अध्यक्ष उमाशङ्कर द्विवेदी, प्राध्यापक डा. दीपक शाक्य, डा. बिशम्बर शर्मा लगायतले सम्बोधन गर्दै भोजपुरी भाषा र साहित्यको प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

गोरखापत्रका भोजपुरी भाषा संयोजक समेत रहेका पुस्तकका लेखक दिनेश गुप्ताले भोजपुरी भाषामार्फत समाजलाई सचेत बनाउने उद्देश्यले आफ्नो तर्फबाट दुई वटा पुस्तक मार्फत भोजपुरी भाषाको संरक्षण गर्ने प्रयत्न सुरु गरेको बताउनुभयो ।

गुप्ताद्वारा लिखित पुस्तकको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । नेपाल भोजपुरी समाज वीरगञ्जका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button