तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा पार्टी सङ्गठित ढंगले एकजुट भएर अगाडि बढ्नुपर्छ : महामन्त्री थापा

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगनकुमार थापाले आसन्न निर्वाचनमा एकजुट भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेसका पूर्व नेता तथा शिक्षा सेवी स्व. श्यामबहादुर कार्कीको पन्ध्रौँ स्मृति दिवसमा आज बालकोटमा आयोजित कार्यक्रममा बोल्नुहुँदै महामन्त्री थापाले आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले सङ्गठित ढंगले अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

कांग्रेस बहुमत उन्मुख र ठूलो दलका रुपमा रहन्छ भन्ने कुरा स्थानीय तहको निर्वाचनले देखाइसकेको उहाँको भनाई थियो ।

उहाँले निर्वाचनमा अरू दलहरूसँग गठबन्धन गरेर गए पनि पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले स्व.कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले २०४६ र २०६२ ÷०६३ को राजनीतिक परिवर्तन पछि पनि जनताको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको भन्दै दल र दलका नेतामा आमूल सुधार आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य द्वय जीतजंग बस्नेत र रमा पौडेल, पूर्व सांसद लेखनाथ न्यौपाने, बागमती प्रदेशका उद्योग राज्यमन्त्री रजनी जोन्छे, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, नेता रामप्रसाद दवाडी, सुरेन्द्र केसी, प्रदीप कार्की लगायतले श्यामबहादुर कार्कीले पुर्‍याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा गणेश आधारभूत विद्यालय बालकोटका ९७ जना बालबालिकालाई झोला एवं स्टेशनरी सामान वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।

सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button