तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा डेङ्गुका बिरामी फेला

मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ ।यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौँडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौँ र हेटौँडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

वडा नं ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याँक्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेङ्गु रोग पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरूको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

डेङ्गु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै सङ्क्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उहाँले जानकारी दिनुभयो । विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेङ्गुका बिरामी फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button