तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

नयाँ दिल्ली। भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ ।

सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन् । उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो ।

उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् ।

स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन् । मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ ।

नवनिर्वाचित उपराष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका रहेको छ ।

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइने भएको हो ।

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलहरूको तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ भने सत्तारुढ दलहरूको तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदिप धनकरलाई उठाइएको छ । उहाँ व्यवसायीक हिसाबले वकिल हुनुहन्छ भने यसअघि पश्चिम बंगालको गभर्नर हुनुभएको थियो । सन् २०१९ मा गभर्नरमा नियुक्त हुनुभएका धनकरले मुख्यमन्त्री ममता बेनर्जीसँगको चिसो सम्बन्धका कारण राजीनामा दिनु भएको थियो ।

भारतको संविधान अनुसार उपराष्ट्रपति देशको दोस्रो ठूलो पद हो ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button