तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाणसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पार्नुभएको जनाइएको छ ।

“नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ”, गृहमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो । अन्य छिमेकी मुलुक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा सहयोग गर्न चीन तयार रहेको बताउनुभयो । सरकारले बिहीबार मात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले जानकारी गराउनुभएको थियो ।

जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने भन्दै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराउनुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button