काँचो स्याउ सङ्कलनमा रोक लगाउने जुम्लाका पालिकाहरूको निर्णय
जुम्ला । जुम्ली काँचो स्याउ सुर्खेत, नेपालगन्ज लगायतका बजारमा पुगेको गुनासोपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन् ।
काँचो स्याउ सङ्कलन तथा विक्री गर्दा जुम्ली पहिचान सङ्कटमा पर्ने भएकोले ढिलोमा भदौ दोस्रो साताबाट सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरिएको हो ।
पातारासीले तीजलाई लक्षित गर्दै भदौ ८ गतेबाट स्याउ टिप्ने र अनुकूलता अनुसार विक्री गर्ने पालिका स्तरीय निर्णय गरेको पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । उहाँका अनुसार भदौ ८ गते अघि जोसुकै किसानले स्याउ टिपेको भेटिएमा पालिकाले दिने अनुदान लगायतका सेवाबाट वञ्चित गरिने छ ।
त्यस्तै स्याउको गुणस्तर कायम राख्न किसानलाई उचित मूल्य दिलाउन तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भने भदौ १५ गतेपछि मात्रै स्याउ टिप्न पाउने निर्णय गरेका छन् । तिला गाउँपालिकाले भदौ १० गते, कनकासुन्दरी गाउँपालिकाले पनि भदौ १० गते, गुठिचौर गाउँपालिकाले भदौ १ गते, हिमा गाउँपालिका भदौ १ गते सडक क्षेत्र र भदौ ५ गतेपछि मात्रै माथिल्लो क्षेत्रको स्याउ टिप्ने पाउने निर्णय गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताउनुभयो ।
पालिका स्तर हुँदै जिल्लामा सञ्जाल निर्माण गरी स्वयम् किसानले नै स्याउको मूल्य तोक्ने वातावरण सृजना लागिपरेको प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
किसानले उत्पादन गरेको स्याउको मूल्य आफैँ तोक्न पाउनुपर्ने माग गरेका छन् । व्यापारीले आफूखुसी मूल्य तोक्ने र काँचो स्याउ लिन चाहने भएकाले आफूहरू घाटामा रहेको किसान जयकृष्ण विष्टले बताउनुभयो ।
गुणस्तरीय र परिपक्व स्याउ निर्यात भएपछि मात्र किसानले परिश्रम अनुसार आम्दानी पाउने पातारासीका कृषि शाखा प्रमुख रूपक बुढाले बताउनुभयो । उहाँका अनुसार किसान र व्यापारी स्वयम नसच्चिएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल छ ।
प्रतिक्रिया राख्नुहोस्