२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

चुरे संरक्षण अभियन्ताहरूद्वारा प्रदेश सरकारको विरुद्धमा प्रदर्शन

अजय कुमार झा २०७९ साउन २० गते १८:५०

जनकपुरधाम । चुरे संरक्षण तथा वास्तविक भूमिहीनको समस्या समाधानको माग माग गर्दै जनकपुरधामको जनक चौकमा अनशनमा बस्दै आएका भूमिहीनहरूले मागको सम्बोधन नभएको भन्दै मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय क्षेत्रमा चुरे वनजङ्गल संरक्षण अभियन्ताहरूले विगतमा प्रदेश सरकारले गरेको ५ बुँदाको लिखित सहमति कार्यान्वयन गर्नुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।

१७ दिनदेखि रिले अनसन बस्दै आएका सुकुम्बासी आन्दोलनकारीहरूले मुख्यमन्त्री र मन्त्रीहरूलाई साडी, चुरा र लहठी बुझाउने भन्दै जान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । सुरक्षाकर्मीले रोकेपछि सडकमै सारी, चुरा, लहठी र पेटिकोट लगायतका सामग्रीहरु फ्यालेर साङ्केतिक विरोध प्रदर्शन गरिएको अभियानका संयोजक सुनिल कुमार यादवले जानकारी दिनुभयो ।

प्रदर्शनकारीहरूले सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वन क्षेत्रको जग्गा फिर्ता हुनुपर्ने, चुरेको विनाश रोकिनुपर्ने, सुकुम्बासीको नाउँमा गैर सुकुम्वासीलाई चुरे क्षेत्रको जग्गा दिने काम रोकिनुपर्ने, चुरे संरक्षणको नाउँमा हुने गरेको अनियमितताको छानविन तथा दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै आएका छन् ।

सम्बन्धित