तपाईँ सुन्दै हुनुहुन्छः

व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्न सरकार प्रतिबद्ध : मन्त्री कार्की (भिडियो)

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको निगरानी गर्न सरकारले गुप्तचर खटाएको भन्ने समाचार निराधार र भ्रमपूर्ण रहेको बताउनुभएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान र सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री ओलीले एक कार्यक्रममा सम्बोधनका क्रममा सरकारले आफ्नो गुप्तचरी गर्न गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको बताउनुभएको थियो ।

यसैबीच बिहीबारे बसेको मन्त्रिपरिषद् बैठकले सहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजनाका लागि जापान सरकारबाट करिब १४ अर्ब ६९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

यस्तै, बैठकले मध्य भोटेकोशी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

मन्त्री कार्कीले दिनुभएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले यही साउन १ गतेदेखि लागु हुने गरी निक्षेप संरक्षणको सीमा तीन लाखबाट वृद्धि गरी पाँच लाख पुर्‍याउने निर्णय गरेको छ । 

यस्तै, बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरु मनोनयन गर्ने, सहसचिवहरू दिपक काफ्ले र विन्दु विष्टलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने, राजपत्राङ्कित विशिष्ट श्रेणीका ६ जना अधिकृतहरूको सरुवा गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक (भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button