तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको प्रसारण स्तरीय बनाउने विषयमा छलफल

जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहसँग मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा रेडियो नेपालको प्रसारण अझ बढी स्तरीय बनाउन एफ एम रेडियो राख्ने विषयमा छलफल भएको छ ।

उक्त विषयमा सञ्चारमन्त्री साह र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी सहितको टिमबिच चाँडै रेडियो नेपालको एफ एम रेडियो स्थापना गर्ने र त्यसका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नेबारे छलफल भएको हो ।

महोत्तरीको बर्दिबासमा रहेको मधेश प्रदेशको प्रादेशिक प्रसारण तथा केन्द्रीय प्रसारण सेवालाई प्रभावकारी बनाउन १ किलोवाटको एफ एम रेडियो रिपिटर टावर, स्टुडियो सहितको संरचना निर्माण गर्ने र त्यसमा प्रदेश सरकारले सहयोग गर्ने विषयमा छलफल भएको छ ।

जनकपुर चुरोट कारखानाको गोदाम घरको मर्मत गरेर सोही ठाउँमा स्टुडियो सहितको १०३ मेघा हर्जको एफ एम रेडियो सञ्चालन गर्ने र अहिलेको ४ घण्टाको प्रादेशिक प्रसारणको अवधि वृद्धि गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रदेश सरकारको सहयोग रहने रेडियो नेपालको एफ एम रेडियो स्थापना र सञ्चालनको मोडलको विषयमा गृह तथा सञ्चारमन्त्री साहले मुख्यमन्त्री सहितको टिमसँग छलफल गरेर चाँडै उपकरण खरिदको प्रक्रियामा जाने जानकारी दिनुभयो ।

यसैगरी प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोसँग पनि रेडियो नेपालको प्रादेशिक प्रसारणको विषयमा कार्यकारी निर्देशक केसी सहितको टोलीले छलफल गरेको छ ।

छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसहित नायब कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, प्रादेशिक प्रसारण केन्द्र बर्दिबास महोत्तरीका कार्यालय प्रमुख रामपुकार राम सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button