साँफे–मार्तडी सडकको बल्देबाट वैकल्पिक मार्ग निर्माण सुरु
बाजुरा । पहिरोबाट क्षतिग्रस्त साँफे–मार्तडी सडक खण्डको बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ ।
एक हप्ता अघि बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी तथा सडक डिभिजन कार्यालय साँफे बीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भए बमोजिम बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्षपछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेको हो ।
निर्माण कार्यको रिवन काटेर जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गर्नुभएको छ ।
पालिकाका तर्फबाट बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाको टोलीले स्थानीय अम्कोट बासीसँग गरेको लगातारको छलफल र संवादपछि नयाँ बाटो निर्माणका लागि जमिन दिन स्थानीय तयार भएका हुन् ।
स्थानीयहरूले मुआब्जा नलिएर नै सडक निर्माण गर्न दिने साउन १५ गते मात्र लिखित सहमति दिएका थिए ।
नयाँ वैकल्पिक मार्गको नगर प्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया कुँवर, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सडक डिभिजन कार्यालयका प्रतिनिधिसहित स्थानीयको उपस्थितिमा औपचारिक सुरुवात गरिएको हो ।
निर्माणको काम सडक डिभिजन कार्यालयकै मेसिनमार्फत गरिने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताउनुभयो ।
जमिन निःशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले बेहोर्ने र सहजीकरण नगरपालिकाले गर्ने सहमतिमा निर्माणको काम अघि बढेको नगर प्रमुख बानियाँले बताउनुभयो ।
सदरमुकाम नै सडक सम्पर्कबाट विच्छेद हुने अवस्थाको अन्त्य र अल्पकालीन समाधानका लागि वैकल्पिक बाटो नै उपयुक्त निकास हुने ठहरसहित नगरपालिकाले वैकल्पिक सडक निर्माण कार्यको सुरुवात गरेको नगर प्रमुख बानियाँले बताउनुभयो ।
बल्देकै अवरोधका कारण साँफे–मार्तडी सडक वर्षेनी बर्षातका चार महिना अवरुद्ध हुने गरेको छ । पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकोले गाउँ माथिबाट सडक लिन दिने सहमति गरिएको स्थानीयको भनाई छ ।
सडकले मुआब्जा दिएको भन्दा तीन गुणा बढी जमिन सडककै नाममा काटिएको छ । सडक निर्माणकै कारण सिङ्गो अम्कोट बस्ती नै उठिबास हुने गरि पहिरोको जोखिममा रहेकोले पुरानै रुटमा थप जमिन काटेर बाटो निर्माण गर्न नदिने अडान स्थानीयको छ ।
वैकल्पिक मार्ग निर्माणको जिरो प्वाइन्टबाट काम सुरु भएपछि जिल्लावासी खुशी भएका छन् ।
स्थानीयको सहमतिपछि काम सुचारु गरिएको सडक डिभिजन कार्यालयका प्रमुख राजेश यादवले बताउनुभयो । बर्षातको समयमा सडक निर्माणको काम प्राविधिक दृष्टिकोणबाट राम्रो मानिदैन्, तर विशेष परिस्थितिलाई मध्येनजर राखेर काम अघि बढाइएको उहाँको भनाइ छ ।
वैकल्पिक मार्ग निर्माण हुनसके तत्कालको पहिरोले अवरुद्ध सडक सुचारु हुने छ ।
बाटो अवरुद्ध हुँदा सदरमुकामसँगको सम्पर्क नै विच्छेद हुँदा यात्रुहरूलाई पैदल हिँड्न समेत समस्या भइरहेको छ भने व्यापारीले भरिया लगाएरै समान ढुवानी गर्नु पर्ने बाध्यताले बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य आकासिएको छ । जिल्ला बाहिर रिफर गरिएका बिरामीले झनै सास्ती बेहोर्नु परेको छ ।
प्रतिक्रिया राख्नुहोस्