तपाईँ सुन्दै हुनुहुन्छः

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

काठमाडौँ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने विषयमा बृहत् छलफल गरेको छ । 

बैठकले विषेशगरी चारवटा विषयमा छलफल गरेको छ । त्यसमा नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानूनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने, जापानको (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने, नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरूलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने र जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट (एसएसडब्लु) प्रणाली अन्तरगत नेपालबाट कामदारहरू उपलब्ध हुन सक्ने कुराको जानकारी रोजगारदाताहरूलाई गराउने विषय रहेका छन् । 

त्यस्तै बैठकमा सूचना प्रवाह सही र छिटो छरितो बनाउनु पर्ने विषयमा पनि छलफल भएको छ । नेपालमा कानूनी रुपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी दिनु पर्ने छ ।  

बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन,  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button