तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोटलाई 

पोखरा । पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले जितेको छ । फाइनल प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई  पराजित गर्दै नगरकोटले उपाधि चुमेको हो । प्रतियोगिताको तेस्रो स्थानको उपाधि जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अस्ट्रेलियाले प्राप्त गरेका छन्  । 

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको  राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा सहभागिता जनाउन देशभरबाट कुल ४८ टिमले नाम दर्ता गराएका थिए भने ती मध्ये ४५ टिमले प्रतियोगितामा भाग लिएका थिए । 

प्रतियोगितामा उत्कृष्ट गायकको उपाधि  दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकाको उपाधि प्रतिष्ठान गण्डकीकी सीता परियार घोषित हुनुभयो । यसैगरी अनुशासित टिम धौलागिरि दोहोरो साँझ ओसाका जापान बन्न सफल भयो भने नव प्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझकी शान्ति कार्कीले प्राप्त गर्नु भयो । 

प्रतियोगिताको विजेता समूहले ६ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ । यसैगरी उपविजेतासमूहले ४ लाख, तृतीय हुन सफल दुई समूहले डेढ–डेढ लाख नगद पुरस्कार हात पारेको प्रतियोगिता संयोजक जीवन दाहालले जानकारी दिनु भयो । 

उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । नव प्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई  १० हजार रूपैँया प्रदान गरियो ।  यो सँगै गत साउन १२ गतेबाट पोखरा सभागृह हलमा सुरु भएको प्रतियोगिता पाँचौँ दिनमा सम्पन्न भएको छ । प्रतियोगिता अपेक्षा गरेभन्दा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको आयोजकको ठहर रहेको छ । यो प्रतियोगितामा निर्णायक संयोजकको जिम्मेवारी  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजयीलाई थियो। 

लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीका अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button