तपाईँ सुन्दै हुनुहुन्छः

जनताले सहजता महसुस गर्ने गरी कार्य सम्पादन गर्न मन्त्री कार्कीको निर्देशन (भिडियो)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले सहजता महसुस गर्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ । 

मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री कार्कीले समयको माग अनुसार नयाँ प्रविधिको विकास र उपभोग गर्दै त्यस दिशामा समर्पण र इमानदारिताका साथ अगाडि बढ्न सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको हो । 

उहाँले मन्त्रालय अन्तर्गतका निकायहरूको परिवर्तनकारी प्रयासमा मन्त्रालय र सरकारको आवश्यक सबै सहयोग रहने बताउनुभयो । 

सञ्चारमन्त्री कार्कीले सूचना प्रविधिको उपभोग र विकासबाट जनताले हरेक क्षेत्रमा राम्रो प्रगति गर्नसक्ने भएकाले यसको विकास र बिस्तारबाट जनतालाई सहजताको महसुस गराउने गरी योजनाका साथ अगाडि बढ्नुपर्ने पनि बताउनुभयो । 

कार्यक्रममा, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंह प्रधानले आर्थिक वर्षको सुरुवातमा नै मन्त्रालयले अन्तर्गतका कार्यक्रम तथा योजनाहरूको सफल कार्यान्वयनका लागि सुरु गरेको यस गृहकार्यले राम्रो प्रतिफल दिनेमा आफु विश्वस्त रहेको बताउनुभयो । 

उहाँले मन्त्रालयको विकास प्रयासमा राष्ट्रिय योजना आयोग सहजीकरणको भूमिका खेल्न तयार रहेको पनि बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सेवाग्राहीले अनुभूत गर्ने गरी भौतिक प्रगतितर्फ सम्बद्ध निकायहरूले ध्यान दिनुपर्ने बताउनुहुँदै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले ललितपुरको खुमलटारमा सूचना प्रविधि सम्बन्धी ज्ञान पार्कको निर्माण कार्य आगामी दिनमा अगाडि बढाइने पनि जानकारी दिनुभयो । 

राष्ट्रिय योजना आयोगका सहसचिव किरण रुपाखेतीले बैठकमा उठेका समस्याहरूबाट सम्बद्ध निकायहरूलाई आगामी दिनमा अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रमीला आचार्यले सञ्चार क्षेत्रको विकासले अन्य क्षेत्रको विकासमा समेत मद्दत पुग्ने भएकाले यस क्षेत्रका निकायहरू अझ बढी जिम्मेवारी बोधका साथ अगाडी बढ्नु जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री र उपसचिव रेखा पाण्डेले बैठकमा मन्त्रालय अन्तरगतका निकायहरूको संक्षिप्त कार्य प्रगति  प्रस्तुत गर्दै सहजीकरण गर्नुभएको थियो ।

वार्षिक समीक्षा कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपाको पहुँच अहिले नेपालको ९१ प्रतिशत जनसङ्ख्यामा पुगेको जानकारी गराउनुहुँदै आगामी दिनमा शत प्रतिशत जनसङ्ख्याले रेडियो नेपाल सुन्न पाउने गरी काम भइरहेको बताउनुभयो ।

वार्षिक समीक्षा कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाह, राससका अध्यक्ष धर्मेन्द्र झा लगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्ना निकायहरूको कार्य प्रगति र समस्याबारे जानकारी गराउनुभएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक/वार्षिक प्रगति समीक्षा समितिको बैठक
जनताले सहजता महसुस गर्ने गरी कार्य सम्पादन गर्न मन्त्री कार्कीको निर्देशन (भिडियो):

प्रतिक्रिया राख्नुहोस्

Back to top button