तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बूढीगङ्गा नगरपालिकामा एमालेका उम्मेदवार विजयी 

बाजुरा ।  बाजुराको बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । 

नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित हुनुभएको हो । 

बानियाँले चार हजार ७७७ मत तथा कुँवरले चार हजार ७२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । 

प्रमुखमा नेपाली काँग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित हुनुभयो । उपप्रमुखमा काँग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताउनुभयो ।  

विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा काँग्रेसका दीपक विक्रम शाह र तारा खातीसँग पराजित हुनुभएको थियो । 

काँग्रेसले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थियो । १० वडा रहेको नगरपालिकामा सातमा एमाले तथा तीनमा कांग्रेस विजयी भयो ।  

एमालेले १, २, ३, ५, ६, ९ र १०  वडामा  जितेको छ भने काँग्रेसले ४, ७ र ८ मा जितेको छ ।  विसं २०७४ मा ६ वडामा मात्र एमाले विजयी भएको थियो । 

नगरपालिमा १३ हजार ६५९ मतदाता थिए । ६६.८३ प्रतिशत अर्थात् नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button