२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

कतारमा भएको परमाणु वार्ताका लागि अमेरिकाले पहल नगरेको इरानको दावी

रेडियो नेपाल २०७९ असार २१ गते ६:२४

तेहरान। सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने विषयमा वार्ताको नयाँ प्रयासमा संयुक्त राज्य अमेरिका रचनात्मक नभएको इरानी विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

इरानी विदेशमन्त्री होसिन आमिर–अब्दोलाहियनले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँगको फोन वार्तामा उक्त कुरा बताएको मन्त्रालयले उल्लेख गरेको छ ।

दोहामा मंगलबार र बुधबा को वार्तालाई सकारात्मक भनी वर्णन गर्दै आमिर–अब्दोलाहियनले भन्नुभयो,“हामीले प्रतीक्षा गर्नुपर्छ र अमेरिकी पक्षले कूटनीतिको अवसरलाई कसरी प्रयोग गर्छ भन्ने कुरा हेर्नुपर्छ ।”

उहाँले भन्नुभयो, “यसअघि समाधानका लागि गरिएका शर्तलाई दोहो¥याएर राजनीतिक पहल गर्नु हुँदैन भन्ने हाम्रो अडान छ ।”

अमीर–अब्दोलाहियनले भन्नुभयो, “ईरान ‘असल र चिरस्थायी’ सम्झौता गर्न गम्भीर रहेको छ र वार्तामा सधैं आफ्ना प्रस्ताव तथा विचारहरू प्रस्तुत गरेको छ ।”

गत हप्ता कतारको राजधानीमा इरान र संयुक्त राज्य अमेरिकाबीच भएको दुई दिवसीय अप्रत्यक्ष वार्ताले औपचारिक रूपमा संयुक्त बृहत् कार्ययोजना (जेसीपीओए) भनेर चिनिने आणविक सम्झौतालाई पुनः स्थापित गर्ने अन्तरराष्ट्रिय प्रयासबीच बाँकी रहेका मतभेदहरू समाधान गर्ने कुनै सम्झौता गर्न सकेन । जुलाई २०१५ मा अमेरिकासहित विश्वका प्रमुख शक्तिराष्ट्रहरू र इरानबीच जेसीपीओएमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा इरानले आफ्नो मुलुकमाथिको प्रतिबन्ध हटाएको बदलामा आफ्नो आणविक कार्यक्रम रोक्न सहमति जनाएको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मे महिनामा वासिङ्टनलाई जेसीपीओएबाट बाहिर निकालेर तेहरानमाथि एकपक्षीय प्रतिबन्ध लगाएपछि इरान पनि क्रमशः सम्झौताबाट पछि हटेको थियो ।

यो सम्झौता लाई पुनर्जीवित गर्ने वार्ता अप्रिल २०२१ मा भियनामा सुरु भएको थियो तर तेहरान र वासिङ्टनबीच राजनैतिक मतभेदका कारण यस वर्षको मार्चमा स्थगित गरिएको थियो ।सिन्ह्वा

सम्बन्धित