२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

रारा तालमा पुग्यो बिजुली

रेडियो नेपाल २०७९ असार २० गते २०:५४

काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो ।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी आजदेखि रारा क्षेत्रका ग्राहकलाई उपलब्ध गराएको हो ।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत् प्रयोग हुँदै आएको थियो । अब जलविद्युत गृहबाट उत्पादित विद्युत् २४ सै घण्टा आपूर्ति हुनेछ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटल, कार्यालय र छेउछाउका घरहरूले विद्युत् आपूर्ति पाएका छन् ।

रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

यस्तै डोल्पामा बिजुली पुर्‍याउनका लागि समेत नियमित रूपमा प्रसारण लाइन निर्माणको काम अगाडि बढेको छ ।
रासस

सम्बन्धित