२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

विपद्का घटनाबाट कर्णालीमा ३०५ जनाको मृत्यु

सागर परियार २०७९ असार २० गते १८:३५

जुम्ला । विभिन्न विपद्मा परी कर्णालीका ३ सय ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा बाढी, पहिरो, आगलागी, हिमपहिरो, सडक दुर्घटना लगायतका घटनामा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाले ज्यान गुमाएका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्ला मध्य सबैभन्दा सुर्खेतमा ६८ जनाको मृत्यु भएको छ । साँघुरो सडक, अव्यवस्थित संरचना, बढ्दो सवारी चापले दुर्घटना बढेका हुन् ।

कानुन मन्त्रालयका विपद् शाखाका प्रमुख कृष्ण बहादुर रोकायाका अनुसार जुम्लामा २८, कालिकोटमा २३, मुगुमा ३९, डोल्पामा ६ र हुम्लामा ७ जनाको मृत्यु भएको छ । त्यस्तै जाजरकोटमा ३० जना, दैलेखमा २२ जना रुकुम पश्चिममा २० जना, सल्यानमा ६२ जना गरी चालु आवको ११ महिनामा जम्मा ३ सय ५ जनाले विभिन्न विपद्मा परी ज्यान गुमाएको विपद् शाखा प्रमुख रोकायाले जानकारी दिनुभयो ।
कर्णालीमा प्राकृतिक प्रकोपपछि सबैभन्दा बढी सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहेको छ । जसमा सडक दुर्घटनाबाट मात्रै कर्णाली प्रदेशका १ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

जसमध्ये जुम्लामा १०, सल्यानमा ३६, मुगुमा ३४, सुर्खेतमा २८, जाजरकोटमा २२, दैलेखमा ११, कालिकोटमा ९, रुकुम पश्चिममा ९ र डोल्पामा २ जनाको सडक दुर्घटनामा परी ज्यान गएको मन्त्रालयको तथ्याङ्क छ ।

विपद् जोखिम न्युनिकरण, मजबुद पूर्व तयारी र ठोस प्रतिकार्य योजना नभएका कारण कर्णालीमा विपद्का घटनासँगै मृत्यु हुनेको सङ्ख्या बढेको छ । सुर्खेतमा सोमबार आयोजित विपद् पत्रकारिता तालिमको उद्घाटनमा कानुन मन्त्रालयले विपद्को वर्तमान अवस्था र भएको क्षतिबारे प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सम्बन्धित