तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ संकट व्यवस्थापन विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

file photo

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।  

सभामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

यस अघि विशेष समयमा बोल्दै सांसदहरुले अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बैठकमा बोल्दै सांसदहरू अनिता देवकोटा, भैरवसुन्दर श्रेष्ठ, विना पोखरेलले हरेक वर्षको अन्तिम समयमा बजेट खर्च गर्ने परिपाटिले देशको विकासलाई सहयोग नपुग्ने भन्दै समयमै काम गर्ने तथा विनियोजित बजेट खर्च गर्न व्यवहारिक सुधार गर्नुपर्ने बताउनुभयो ।  

यस्तै बैठकमा सांसदहरूले कृषकलाई पर्याप्त मल उपलब्ध गराउन, वर्षासँगै तराई क्षेत्रमा हुने डुबान र पहाडी क्षेत्रको बाढी पहिरोको कारण पुग्ने क्षति र नागरिकको जीवन सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button