तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । 

ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरूलाई कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले हस्तान्तरण गर्नुभएको हो । 

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरू फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रनामनि जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना सङ्कलन गरी अपरेसनमा गई मोटरसाइकलहरू बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेका छौँ । अनुसन्धान पश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौँ ।”

थप प्रष्ट पार्दै डिआईजीपी जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।

यस आ।व। ०७८/०७९ मा ४६३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४४ जना चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागी विभिन्न प्रहरी वृत्तहरूमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ ।

मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोसाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button