तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु भएको छ । 

मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले वीरेन्द्रनगर–१२, नेवारेमा बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती सुरुवात गरेको हो । 

गत वर्षदेखि सुरु गरिएको फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिसकेको छ । करिब ७० लाखको एकल लगानीमा २८ कट्ठा जमिन भाडामा लिएर फर्मले ड्रागन फ्रुटको खेती गर्दै आएको छ । 

हालसम्म एक क्विन्टल बढी ड्रागन फ्रुट विक्री गरिएको सञ्चालक पदमा रावतले जानकारी दिनुभयो । उहाँले आफ्ना श्रीमान् स्वर्गीय वीरबहादुर बुढाले दुई वर्ष अघिदेखि नै ड्रागन फ्रुट खेतीको लागि तयारी गरेकोको जनाउनुभयो । 

भारतदेखि ल्याइएको ड्रागन फ्रुटको बेर्नाले व्यवसायीक उत्पादन दिन थालेपछि खुसी बढेपनि श्रीमानको मृत्युपछि फर्म सञ्चालनको जिम्मेवारी एक्लैले सम्हाल्नु पर्दा अलि मनमा गाह्रो महसुस भइरहेको उहाँको भनाइ छ । 

ड्रागन फ्रुटको महत्त्व थाहा पाएपछि यसको सम्भावना देखेर ड्रागन फ्रुटको खेती अहिले बिस्तारै जिल्लाभरि भइरहेको छ । 

“ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायर अनिवार्य हुन्छ । जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोल लगायतका लागि बढी लगानी गर्नुपर्ने हुन्छ” बुढाले भन्नुभयो, “१४ थरी फलबाट आउने पोषण तत्त्व ड्रागन फ्रुटबाट मात्रै पाइने अध्ययनले देखाएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि यसतर्फ कृषकले लगानी बढाएका हुन् ।” 

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी बढेपनि पछि राम्रो कमाइ हुने गरेको उहाँको अनुभव छ । ड्रागन फ्रुट रोपेको एक वर्षदेखि १८ महिनाभित्रै ड्रागन फ्रुट उत्पादनको प्रतिफल दिन सुरु गर्छ । ड्रागन फ्रुटको बोक्रा र काइनाको जुस प्रयोग गर्न सकिन्छ । रातो ड्रागन फ्रुटको मूल्य अहिले बजारमा ६ सयदेखि एक हजार प्रति केजी छ । 

ड्रागन फ्रुटले वर्षमा चार पटक उत्पादन दिन्छ । एक सिजनमा प्रति बोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी उत्पादन दिने अपेक्षा फर्म सञ्चालक बुढाको छ । 

एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुने अनुमान छ । ड्रागन फ्रुटको फलसँगै बिरुवा पनि विक्री गर्ने फर्मको लक्ष्य रहेको बुढाको भनाई छ । 

एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखी २० वर्षसम्म उत्पादन दिने गरेको छ । फर्मको अवलोकन गर्न पुग्नुभएका कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले पौरखी व्यक्तिहरूबाटै कर्णालीको कृषि क्षेत्र व्यावसायिक हुने भएकाले प्रदेश सरकारले कृषक प्रोत्साहन कार्यक्रमसँगै अन्य थुर्पै अनुदान प्याकेज समेत ल्याएको जानकारी दिनुभयो । 

उहाँले ड्रागन फ्रुट उत्पादनपछि विक्रीको समस्या नभए पनि कुनै कारणवश समस्या भएमा सरकारले सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button