तपाईँ सुन्दै हुनुहुन्छः

अछामको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त

अछाम।अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन स्वास्थ्य चौकीले भारतीय राजदूतावास मार्फत एम्बुलेन्स पाएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रम मार्फत जिल्लाको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

७५ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले नेपाललाई अनुदान सहायता स्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको थियो । सोही उपहार कार्यक्रम मार्फत तिमिल्सैनले समेत एम्बुलेन्स पाएको हो ।

तिमिल्सैन स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराउनका लागि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना र नेपाल प्रहरीका निरिक्षक योगेन्द्र तिमिल्सिनाले विशेष पहल गरेका थिए ।

तिमिल्सैन स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद र तिमिल्सैनका वडाध्यक्ष किरण खत्रीले बुझ्नुभएकाे छ ।

‘एम्बुलेन्स प्राप्त भएपछि अब बिरामीलाई अस्पतालसम्म पुर्याउन सहज हुनेछ,’ वडाध्यक्ष खत्रीले भने, ‘जनतालाई बिरामी हुँदा अस्पतालसम्म पुर्याउनका लागि व्यहोर्नुपर्ने समस्या अन्त्य भएको छ ।’ उनले एम्बुलेन्सलाई वडा, गाउँपालिका र जिल्लास्तरमा आवश्यकताका आधारमा परिचालित गरिने बताउनु भयाे ।

बान्नीगढी जयगढ गाउँपालिकामा प्रदेश सरकारले दिएको एम्बुलेन्स भएपनि निरन्तर आउने प्राविधिक समस्याका कारण पूर्ण रुपमा सञ्चालनमा छैन । जसका कारण स्थानीयले बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन समस्या झेल्दै आएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button