तपाईँ सुन्दै हुनुहुन्छः

‘दिग्वी’ छायाङ्कन नेपालमा हुने

काठमाडौँ।फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । 

फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । ३५ दिनको छायाङ्कन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन् । रक ओपेरा सङ्गीतका चर्चित फ्रान्सेली सङ्गीतकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छायाङ्कन नेपाल र बाँकी फ्रान्समै हुने जानकारी दिनुभयो ।  

सन् २०१५ को महाभूकम्पको बेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाउनुभएको थियो ।   उहाँले भन्नुभयो, “धेरै विदेशी मान्छे नेपालमा आउँछन् आध्यात्मिकताको खोजी गर्न । म पनि आएको छु आनन्द र खुसी दिने एउटा फिल्म बनाउन ।”
 
कोभिड महामारीको कारण नेपालसहित विश्व फिल्ममा सङ्कट आएको बताउँदै निर्देशक सिमोन्ले छायाङ्कन हुन लागेको यो फिल्मले नेपालको पर्यटनलाई पनि सघाउने आशा व्यक्त गर्नुभयो । आफू टपगन, जुरासिक पार्कजस्ता फिल्मको दर्शक भए पनि आफूले फिल्ममा आध्यात्मिकता र सन्देशको खोज गर्न रुचाउने उहाँको भनाइ थियो ।
 
‘फिल्म फिल्मजस्तै हुनुपर्छ, टिभीजस्तो होइन भन्दै उहाँले ‘ग्ल्यामर’ फिल्ममा आध्यात्मिकता पनि घोलेर खुवाउनुपर्ने धारणा राख्नुभयो । फिल्मले आध्यात्मिकता, सङ्गीत र जीवनको अर्थ  खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारङ्गी वादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हो ।
 
फिल्मको मुख्य पात्रको रुपमा रहेको बालक दिग्वी पात्रको कास्टिङ चाँडै हुने जनाइएको छ । फिल्मको नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रालिका प्रमख दिग्विजय भारती र सुरेश अधिकारीले फिल्ममा नेपाली टोली पनि हुने बताउनुभयो ।  

मार्चदेखि फिल्म निर्माण सुरु हुने जनाउँदै उनीहरुले काठमाडौँका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा छायाङ्कन हुने  जनाए । यो एउटा युनिभर्सल अपिल बोकेको फिल्म हुनेछ । नेपाल फिल्म प्रोडक्सन प्रालिले निकट भविष्यमा पनि अन्य अन्तर्राष्ट्रिय प्रोजेक्टमा पनि काम गर्ने जनाएको छ । कम्पनीका व्यवस्थापक दिग्विजय भारतीले यस फिल्मले नेपालको पर्यटनमा टेवा पुग्ने बताउँदै अर्थपूर्ण र गहिराइको सन्देश बोकेको फिल्म भएकाले आफूहरुले सहकार्य गर्न लागेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button