२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

रेडियो नेपाल २०७९ असार १९ गते २२:११

काठमाडौं । मुलुकमै पहिलोचोटी आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गर्नुभयो ।


रोयल नेपाल गल्फ क्लबमा शनिवार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता हुनुभयो । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।


‘प्रतिष्पर्धा र समुदायबाट महिला गल्फरको सशक्तीकरण’ नारासहित प्रतियोगिता भएको हो । प्रतियोगितामा १८ होलमा स्ट्याबल संरचनामा ३,४ ह्यान्डिक्यापसहित भएको प्रतियोगितामा ४० स्कोरसहित सिग्देल विजेता बन्नुभएको आयोजक मध्येका प्रतिमा शेर्पाले जानकारी दिनुभयो ।


उहाँभन्दा २ स्कोर कम गरेकी काश्मिरा शाह उपविजेता हुनुभयो । काश्मिराले सर्वाधिक ३ बर्डिज प्रहार गरेर मष्ट वर्डिज विधाको पुरस्कार प्राप्त गर्नुभयो ।


यसैगरी सिनियरतर्फ ३७ स्कोरसहित रेखा घिमिरे च्याम्पियन बन्नुभएको थियो । सो प्रतियोगितामा कल्याणी मोक्तानले दोस्रो स्थान हासिल गर्नुभयो ।

लेडी क्याप्टेन आरसिया बानु, नेपालका नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा र सञ्चारकर्मी सरिताश्री ज्ञवालीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विजेतालाई स्कुटरसहित उपहार प्रदान गरिएको थियो । यसैगरी उपविजेतासहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकट लगायत आकर्षक पुरस्कार प्रदान गरियो ।


प्रमुख अतिथि राष्ट्रपति भण्डारीले पहिलेदेखि खेलिदै आएको यो गल्फ खेलको प्रवद्र्धनका लागि राज्यको सम्बद्ध निकायले उचित समन्वय गर्नुपर्ने धारणा राख्नुभएको थियो ।


गल्फ खेलाडी समेत रहनुभएका कार्यक्रमका विशेष अतिथि सपना मल्ल प्रधानले यो खेलले शारिरिक मात्र नभै सामाजिक, मानसिक रुपमा समेत लाभदायी हुने सुनाउनुभएको थियो ।


रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले यो क्लबमा पहिलोपल्ट यस्तो खालको प्रतियोगिता भएको भन्दै महिला खेलाडीहरुको प्रशंसा गर्नुभएको थियो ।

सम्बन्धित