तपाईँ सुन्दै हुनुहुन्छः

‘श्रमिकको न्यायको पक्षमा छु’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा रहेका सबै श्रमिकको योगदानको उचित कदर हुने गरी काम गर्ने बताउनुभएको छ ।

सामाजिक सुरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका बारेमा मन्त्रालयमा ब्रिफिङ लिने क्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणबाट मुलुकमा वैदेशिक मुद्राको सञ्चिती बढ्ने हुँदा उनीहरूको उचित मूल्याङ्कन गरिने बताउनुभयो ।

श्रमिकको हकहित संरक्षणका लागि ट्रेड युनियन र राजनीतिक दलका भ्रातृ सङ्गठन क्रियाशील हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “म श्रमिकको न्यायको पक्षमा छु । त्यसैले बन्द, हडताल, तालाबन्दीभन्दा पनि शान्तिपूर्ण तरिकाले श्रमिकलाई न्यायको अनुभूति हुने काम गरौँ ।” मन्त्री कुँवरले श्रमिकलाई काम गर्ने वातावरण सहज बनाउन कानुनमा भएका केही प्रावधान संशोधनको खाँचो औँल्याउनुभयो । उहाँले खाडी मुलुकमा मात्रै नभएर भारतमा रहेका श्रमिकका समस्यालाई पनि केन्द्रित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषले अहिलेसम्म गरेका काम र भएका उपलब्धिका साथै आगामी दिनमा गर्न सकिने कामका बारेमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी गराउनुभयो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले आफ्नो विभागअन्तर्गत अहिलेसम्म भए, गरेका कार्य सम्पादनबारे जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button