२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘सुशासन व्यवहारमा कार्यान्वयन गर्न सरकार अग्रसर’

रेडियो नेपाल २०७९ असार १९ गते २१:१४

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासनलाई व्यवहारमा लागू गराउन सरकार अग्रसर रहेको बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आयोजना गरेको ‘सरकारप्रतिको जनविश्वास: केही विवेचना’ विषयक कार्यक्रममा उहाँले नेपाललाई कम भ्रष्टाचार हुने देशका रुपमा स्थापित गराउन सरकार लागिपरेको जानकारी गराउनुभयो ।

File photo

“दण्ड र पुरस्कारलाई साथसाथ नलगे समाज अनुशासित हुँदैन, सरकारलाई पारदर्शी र जबाफदेही बनाउन सबैले आफ्ना स्थानबाट घच्घच्याउनुपर्छ, स्थानीय र प्रदेश सरकारलाई पनि जबाफदेही बनाउन लाग्ने दायित्व नागरिक समाजको हो”, उहाँले भन्नुभयो ।

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेको सरकारले प्रदेश र केन्द्रीय निर्वाचन पनि संविधानले तोकेकै समयमा सम्पन्न गर्ने मन्त्री कार्कीको प्रतिबद्धता थियो । अर्थतन्त्रमा चुनौती आए पनि सङ्कट भने नरहेको सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले सुनाउनुभयो ।

काठमाडौँ महानगरपालिकाका पूर्व उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले छोराछोरी पढाउन र स्वास्थ्य सुविधामा भएको महँगीका कारण भ्रष्टाचार बढेकाले सरकारले त्यसलाई व्यवस्थित गर्नुपर्ने भनाइ राख्नुभयो ।

पूर्व मुख्यसचिव डा विमल कोइरालाले संसारभर निर्वाचित सरकार अधिनायकवादतर्फ अग्रसर भएको उल्लेख गर्नुहुँदै यसले सरकारप्रतिको विश्वसनीयतामा कमी आएको बताउनुभयो । विधिको असमान प्रयोगले जनतामा निराशा बढेको उहाँको विचार थियो ।

कार्यक्रममा पूर्व सचिव भरत थापा, पूर्वनायब महालेखापरीक्षक रामबाबु नेपाल, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्ण प्रसाईँ, टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठ लगायतले सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएकाले यसप्रति बेलैमा ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
रासस

सम्बन्धित