तपाईँ सुन्दै हुनुहुन्छः

डस्टी कार्गोको समस्या समाधान गर्न पहल गर्छु: उद्योग मन्त्री बडू

वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले डस्टी कार्गोको भण्डारण तथा आयातसम्बन्धी समस्यालाई नेपाल तथा भारतका सम्बन्धित निकायहरूसँगको सहकार्यमा समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।

भारतले गत असार १७ गतेदेखि वीरगञ्ज रक्सौल नाकाबाट डस्टी कार्गो आयातमा रुट परिवर्तन गरी आईसिपी नाकाबाट आयात गर्ने निर्णय गरेपछि प्रभावित भएका उद्योगी व्यवसायीहरूको तर्फबाट वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूलाई आज उहाँकै कार्यकक्षमा भेटघाट गरी उत्पन्न समस्या समाधान गर्न माग गरेका थिए ।

भेटघाटको अवसरमा मन्त्री बडूले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले उठाएको सुझावप्रति आफू गम्भीर रहेको बताउँदै एकीकृत जाँचचौकी तथा सुख्खा बन्दरगाहलाई अझ व्यवस्थित ढङ्गले सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्सारमा प्रयोग हुने अनलाइन कम्प्युटर प्रणालीको सर्भरलाई अपग्रेड गरी समस्या समाधानको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने पनि बताउनुभयो ।

भेटघाटको क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले नेपालका लागि आयात भई रक्सौल रेल्वे साइडिङ्गमा थुप्रिने धुलोजन्य औद्योगिक कच्चा पदार्थहरू ल्यान्ड कस्टम रक्सौल–मैत्री पुल हुँदै आयात हुँदै आएकोमा ल्यान्ड कस्टम रक्सौलले १ जुलाई २०२२ देखि सो रुट परिवर्तन गरी रक्सौल मुख्य बजार– लक्ष्मीपुर–एकीकृत जाँचचौकी कायम गरिएको भनी ल्यान्ड कस्टम रक्सौलको २८ जुन २०२२ को परिपत्रले नेपाली आयातकर्ताहरू मर्कामा परेको कुरा बताउनुभयो ।

उपाध्यक्ष अग्रवाले जुलाई मसान्तसम्म नेपालका लागि आयात हुने धुलोजन्य औद्योगिक कच्चा पदार्थहरूको आयातको लागि नेपाली आयातकर्ताहरूले ल्यान्ड कस्टम, रक्सौल–मैत्री पुलको बाटो प्रयोग गर्न पाउने भए पनि त्यस पश्चात् रक्सौल मुख्य बजार–लक्ष्मीपुर–एकीकृत जाँचचौकीकै बाटो प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्थालाई सहज गर्न र रेल्वे साइडिङ्गबाट आईसिपीसँगको एप्रोच रोड ४ लेन नहुञ्जेलसम्म ल्यान्ड कस्टम रक्सौल हुँदै मैत्री पुलको बाटो नै प्रयोग गर्न पाउनुपर्ने मन्त्री बडूसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button